अब गैरआवासीय नेपाली अर्थात् एनआरएन (NRN) नागरिकले कुनै पनि नेपाली बैंकमा नेपाली रुपैयाँमै खाता खोल्न पाउनेछन्, र सोही खातामार्फत शेयर बजारमा लगानी गर्न सक्नेछन्।
यो व्यवस्था नेपाल राष्ट्र बैंकले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ल्याएको हो, जसलाई ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ को चौथो संशोधनमार्फत लागू गरिएको छ।
नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ संशोधनले एनआरएनहरूले शेयर लगानी गर्दा पूर्व स्वीकृति प्राप्त गर्नु अघि नै खाता खोलेर रकम भित्र्याउन सक्ने, आवश्यकता परे रकम फिर्ता पाइने, र करसम्बन्धी प्रक्रियालाई सरल बनाउने विभिन्न प्रावधानहरू प्रस्तुत गरेको छ।

१. स्वीकृति अघि नै खाता खोली रकम भित्र्याउन सकिने: एनआरएनहरूले अब संयुक्त लगानी कम्पनीको शेयरमा लगानी गर्नका लागि विदेशी लगानीको स्वीकृति नलिईकनै नेपाली बैंकमा खाता खोली नेपाली रुपैयाँमा रकम भित्र्याउन सक्नेछन् र पछि स्वीकृति सजिलै लिन सक्ने छन्।
२. शेयर नपरेमा रकम फिर्ता प्रक्रिया: शेयर बाँडफाँडमा नपरेको अवस्थामा रकम विदेशमा फिर्ता गर्नुपरेमा खाता रहेको बैंक/वित्तीय संस्था वा शेयर रजिष्ट्रारको सिफारिससहित निवेदन दिन सकिन्छ।
३. कर तिर्न सिधा भुक्तानीको सुविधा: विदेशी लगानी अन्तर्गत तिर्नुपर्ने कर रकम विदेशी लगानीकर्ताले बैंक वा वित्तीय संस्थामार्फत सिधै कर कार्यालय, उद्योग वा लगानीकर्ताको नाममा नेपाल भित्र्याउन सक्नेछन्। साथै यस प्रक्रियाका लागि राष्ट्र बैंक वा अन्य निकायको पूर्वस्वीकृति आवश्यक पर्दैन।
४. बढी भित्रिएको रकम फिर्ता गर्न स्वीकृति आवश्यक: यदी विनिमय दरको कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम अनिवार्य फिर्ता गर्नु पर्दैन। तर फिर्ता गर्नु पर्ने भएमा निवेदन दिई राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्नेछ।
नेपाल राष्ट्र बैंकको यो नीति परिवर्तनले अब एनआरएनहरूले शेयर बजारमा लगानी गर्नु अघि अनावश्यक झन्झट झेल्नु पर्दैन। खाता खोल्ने, रकम भित्र्याउने, कर तिर्ने जस्ता प्रक्रियाहरू यस नीतिले सजिलो बनाएको छ।
साथै लगानी नपरेको खण्डमा रकम फिर्ता लिनसमेत स्पष्ट व्यवस्था गरिएको छ। राष्ट्र बैंकको यो कदमले एनआरएनहरूको लगानी यात्रालाई सहज बनाउनुका साथै नेपालको पूँजी बजारमा विदेशी पूँजीको बहाव बढाउने अपेक्षा गरिएको छ।
Sign up to discover Saral Banking Sewa